८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एमाले विभाजन भएको होइन, टुक्रिएको होः ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन नभएको बरू टुक्रिएको बताएका छन्। बिहीबार दिउँसो भक्तपुरबाट विशेष सम्बोधन गर्दे ओलीले अकारण पार्टी फुटाइएको बताए। ‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरू गरेको छ, अस्थिरता सुरू गरेको छ, अनेक प्रचार गरेको छ,’ ओलीले भने,‘त्यस्तो हुँदा पनि सहेर मैले एकताको प्रयास गरें।’ उनले प्रदेश-प्रदेशमा पार्टीभित्र अन्तरघात भएको संसद जोगाउँछु भन्दा आफूलाई विश्वासको मत नदिइएको दाबी गरे।

‘एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने गरी कामहरू चलाइएका छन्,’ ओलीले भने,‘आफैंले फोन गरेर, कुरा गरेर, भेटेर एकताको प्रयास गरेको छु। मैले नै एकताको प्रयास गरिनँ भन्नु अनुचित आरोप हो।’ उनले माधव नेपालले विपक्षीसँग मिलेर घात गरेको कुरा चस्मा नलगाइकन खाली आँखाले देख्न सकिने बताए।

माधव नेपालले नयाँ दल दर्ताका लागि प्रक्रिया थालेपछि एमालेको औपचारिक विभाजन प्रक्रिया सुरू भएको छ तर ओलीले त्यो विभाजन नभई केही टुक्रिएर गएको बताएका छन्।

‘माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला,’ ओलीले भने,‘माधव नेपालको उद्देश्य निहुँ खोज्नुमात्रै हो। देश बनाउनका लागि राम्रो उद्देश्यका साथ अघि बढ्ने हो, हामी त्यसमा लागेका हौं।’

प्रकाशित मिति : ३ भदौ २०७८ बिहिबार ००:००  ३ : ५२ बजे