काठमाण्डौँ ।
१०बुँदे सहमति कार्यान्वयन हुँदा एमाले प्रवेश गरेर स्थायी कमिटी सदस्य बनेका पूर्वमाओवादी केन्द्रका नेताहरूको भूमिका के हुन्छ ? भन्ने प्रश्न उठेको छ । १० बुँदे सहमति कार्यान्वयनको पहिलो चरण भनेको पूर्वमाओवादीविनाको स्थायी कमिटी बैठक हो ।
त्यही १०बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा माधव नेपाल छोडेका नेताहरूसँगको बैठकपछि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ । विहान १० बजे सो वैठक बस्ने छ । पूर्वमाओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् कि हुँदैनन् ? अहिले चासोको विषय बनेको छ ।
एमाले विवाद मिलाउन १०बुँदे सहमति कार्यान्वयन गर्ने हो भने पहिलो चरणको स्थायी कमिटीमा पूर्वमाओवादीका नेताहरू सहभागी हुन मिल्दैन । माधव नेपालसहितका नेताहरूको पहिलो जोड नै २ जेठ ०७५ को एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने भन्ने हो, जसमा पूर्वमाओवादी नेताहरू थिएनन् । त्यही बैठकबाट पूर्वमाओवादीका नेताहरूलाई मनोनीत गर्ने उनीहरूको शर्त हो ।
तर, भोलिको स्थायी कमिटी बैठकमा भने पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरू पनि सहभागी हुनेछन् । बालकोट वार्तामा सहभागी एक नेताका अनुसार पूर्वमाओवादी नेताहरू सहभागी हुने कुरालाई शर्तका रूपमा लिइएको छैन । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पूर्वमाओवादीका नेताहरूसहित स्थायी कमिटी बस्नेछ । उपाध्यक्ष भीम रावल, महसचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले स्थायी कमिटीको एजेण्डा तयार गरेका छन् ।
बालकोट वार्ताले उनीहरूलाई बैठकको एजेण्डा तयार गर्ने जिम्मा दिएको हो । उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार तीन सदस्यीय टोलीले बैठक सञ्चालनसम्बन्धी प्रस्ताव तयार गर्नेछन् । र, त्यसैअनुसार १०बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार हुनेछ ।







प्रतिक्रिया