काठमाण्डौँ ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन्।
काठमाडौंको चन्द्रागिरिमा आफू समर्थित सांसद र केन्द्रीय सदस्यको भेलामा नेपालले पार्टी दर्ता प्रक्रियामा गएकाले स्वतः दर्ता हुने र एकताको प्रक्रिया समेत चलिरहने बताए।
उनले कार्यदलमा रहेका नेताले अझै पनि केपी ओलीलाई चिन्न नसकेको पनि बताए। दस बुँदे सम्झौता कार्यान्वयन गर्छु भने पनि त्यसका लागि ओली तयार नहुने उनको भनाइ थियो।
‘कार्यदलको सम्झौता केपी आफैंले मान्नुहुन्न। अर्को कुरा हामीले पनि दस बुँदेलाई स्वीकारेका छैनौं। यसमा हाम्रो असहमति कायमै छ,’ नेपालको भनाइ उदृत गर्दै सांसद पार्वती बिशुन्खेले भनिन्, ‘अहिले पनि तपाईंहरूले ९कार्यदलमा रहेका नेताहरू० उहाँलाई चिन्नुभएको छैन भने फेरि एकपटक चिन्ने प्रयास गर्नुहोस्। हाम्रो एकता प्रक्रिया फेरि पनि चल्छ।’
नयाँ पार्टी गठनमा सहभागी नभएका नेतालाई लक्षित गर्दै नेपालले अझै पनि उनीहरूलाई बाटो नबिराउन आग्रह गरे। उनले पार्टीमा स्वागत रहेको समेत बताए।
एमालेका दोस्रो तहका नेताले पार्टी एकताका लागि पार्टी अध्यक्ष केपी ओलीसँग दस बुँदे प्रस्ताव कार्यान्वयनको सहमति गरेकै दिन नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरि लगेका हुन्।
सोमबार सामान्य छलफल भएको र मंगलबार दस्तावेजमाथि छलफल हुने सांसद बिशुन्खेले बताइन्। उनका अनुसार भोलि समूहगत छलफल हुनेछ भने बुधबार त्यहीँबाट उनीहरू निर्वाचन आयोग आउने कार्यक्रम छ। आयोगले नेपाल पक्षलाई सनाखतको लागि बुधार बोलाएको छ।







प्रतिक्रिया