२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एमालेमा लागेका लुम्बिनीका दुई सांसदको पद खारेज



काठमाडौं ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय दिनेश पन्थी र दधिराम न्यौपानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका सांसदद्वय पन्थी र न्यौपानेलाई पदमुक्त गर्दै कारबाही गरेको थियो। माओवादी केन्द्रको उक्त निर्णयविरुद्ध उनीहरु सर्वोच्चमा रिट हाल्न पुगेका थिए।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सांसद दधिराम न्यौपानेको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको हो

अदालतबाट अन्तरिम आदेश जारी नभएपछि न्यौपाने र पन्थीको प्रदेशसभा सदस्य पद अब खारेज भएको छ। माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य न्यौपाने र पन्थीलाई गत चैतमै पदमुक्त गरिएको थियो।

प्रदेशसभाको चैत २४ को बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका थिए। न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  ४ : ४९ बजे