३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

विद्यालयमा आश्रय लिइरहेका राजापानीका डुवान प्रभावितलाई राहत वितरण



मायादेवी अनलाइन वाणगंगा ।
डुबानका कारण विस्थापित बनेका बाणगंगा नगरपालिका ३ राजापानीका घरपरिवारलाई भेटेपछि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले राहत प्रदान गर्नुभएको छ । राजापानी गाउँ नजिकै एक विद्यालयमा सामुहिक आश्रय लिईरहेका डुबान प्रभावित ३३ घर परिवारका ७१ जनालाई राहत स्वरुप तत्कालका लागि खाद्यान्न लगाएतको सामग्री प्रदान गर्नुभएको हो ।

गत विहिवार राती आएको अविरल वर्षापछि भएको डुबानबाट घर भत्किएपछि विस्थापित बनेका परिवारको कष्टपूर्ण स्थितीको बारेमा स्थलगत निरिक्षण पछि सांसद पन्थीले तत्कालका लागि आवश्यक खाद्यान्न र बस्ने म्याट उपलब्ध गराउनु भएको हो । उहाँले चामल, दाल, तेल, नुन, साबुन, विस्कुट र मेट्रसहरु वडा अध्यक्ष सन्तराम थारुलाई हस्तान्तरण गर्नु भएको छ ।

आफनो निर्वाचन क्षेत्रमा बाढी डुवानका कारण घरवार विहिन बनेका, मानवीय तथा भौतिक क्षति भएकोले जनजीवन असहज बनेकोले आफु दुखिद भएको बताउदै आवश्यक सहयोगका लागी पहल भैरहेको समेत बताउनुभयो । सांसद पन्थीले वाणगंगा नगरपालिकाको डुवान प्रभावित क्षेत्रका वडामा पुगेर निरिक्षण गरिरहेको बताउनुभयो । डुवान प्रभावित परिवारका समस्या सुनेर आवश्यक सहयोगका लागि आफुले काम गर्ने सांसद पन्थीले बताउनुभयो । विद्यार्थी नेता शुशिल खत्रीले विषम परिस्थीतिमा नगरवासीलाई आवश्यक सहयोग जुटाउन सवैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

विस्थापित घरपरिवारलाई वडा अध्यक्ष सन्तराम थारुले स्थानीय श्री कोटिया प्रा.वि.गंगौलियमा अस्थायी बसोवास मिलाइएको र छाक टार्न समस्या भएका पीडित परिवारलाई खाद्यान्नको व्यवस्था मिलाईएको बताउनुभयो ।

विद्यालयमा आश्रय लिइरहेका ७१ जनामा बालबालिका, अपांगता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुको लागि थप सहयोगको आवश्यकता भएको वडा अध्यक्ष रौतारले बताउनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ८ : ५५ बजे