२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मोडल निशाको उपचारमा नर्भिकले ५० लाख खर्चियो , स्वास्थ्यमा अपेक्षित सुधार सकेन



काठमाडौं ।

मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो ।

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेकी थिइन् । चौधरीले नै घिमिरेको उपचारमा लाग्ने खर्च व्यहोर्दै आएकी छिन् । घिमिरेको उपचारमा ५० लाखभन्दा धेरै खर्च भइसकेको र अस्पतालमा उपलब्ध सबै प्रविधि, सिप र विधिको प्रयोग गरिएको अस्पतालका कर्पोरेट कम्यूनिकेशन एन्ड पिआर प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

फिल्म पढ्नका लागि भारत गएका बेला देहरादूनमा सडक दुर्घटनामा परेर उनी घाइते भएकी थिइन् । सुरुवातमा भारतमै उपचार गरिएपनि आर्थिक रुपमा उपचार खर्च धेरै पर्ने देखिएपछि बाबुआमाले उनलाई नेपालमै ल्याएका थिए । त्यसपछि तीन महिना ट्रमा सेन्टरमा उपचार गरिएपनि उनको स्वास्थमा सुधार आएको थिएन ।

र, उनलाई चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरूमा लगातार थेरापी गरिएको थियो । परिवारलाई थेरापी खर्च जुटाउन समेत मुस्किल परेको र कोरोना संक्रमण पनि त्यही समयमा बढेपछि उनी केही समय घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । त्यहीँबाट २७ जेठमा मेघा चौधरीले उनको उद्धार गरेकी हुन्, उद्धारको समय घिमिरेको तौल घटेर २० किलोमा झरिसकेको थियो ।

अब रिहाब ..
घिमिरेको उपचारमा संलग्न डाक्टर पंकज जलानका अनुसार दुर्घटनाका कारण उनलाई ब्रेन इन्जुरी भएको छ । अवस्था निकै जटिल भएकाले पूर्ण रुपमा सामान्य हुने सम्भावना नदेखिएको उनले बताएका छन् । लामो समय उपचारविहीन अवस्थामा बसेकाले अहिले आएर कोसिस गरिएपनि अपेक्षित रुपमा घिमिरेको स्वास्थ सुधार हुन नसकेको डाक्टर जलानले बताए ।

‘स्वास्थ अवस्था यस्तै रहने हो भने घिमिरेलाइ राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ । यो विषयमा पनि आफूले सोचिरहेको नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले बताउनुभएको छ,’ नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  २ : १३ बजे