२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

डेढ महिनापछि मेलम्चीमा फेरि लेदोसहितको बाढी आयो




काठमाण्डौँ ।

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ। बाढीले के कति क्षति गरिरहेको छ भन्ने आउन बाँकी रहेको पोख्रेलले बताउनु भयो ।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बाढी चनौटे बजारको बीच भागबाट बगिरहेको छ। तर, त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन।

अधिकारीका अनुसार हेलम्बु, मेलम्ची, चौतारा अन्तर्गतका सबै ठाउँमा सुरक्षा निकाय परिचालित गरी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको छ। प्रहरीले यसअघि नै दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरेको थियो।

‘त्यो साइरनका कारण पनि अहिले मानिसहरूलाई सजिलो भएको छ,’ उनले भने। उनका अनुसार मेलम्ची नदीले स्वरुप परिवर्तन गरेको छ। नदीको आवाज पनि परिवर्तन भएर आएको छ।

शनिबारको बाढीले मानवीय क्षति भने पुर्‍याएको छैन। हेलम्बु गाउँपालिका– १ का अध्यक्ष मिङमार लामाले बेलुकी ८ बजेतिर टेलिफोन गरी यसअघि पहिरो गएको स्थानमा पुनः ठूलो पानी परेको तथा काठ, ढुंगा र लेदोसहितको बाढी आउन थालेको खबर गरेका थिए।
करिब एक घन्टापछि करिब ९ बजेतिर बाढी मेलम्ची बजार क्षेत्रमा आइपुगेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ६ : ५० बजे