१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाढी पीडित १३ परिवारलाई कपिलवस्तु नगरपालिकाले दियो जस्तापाता



कपिलवस्तु ।

एक साताअघिको अविरल बर्षापछिको बाढीले बगाउँदा घरबारविहीन कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाई सकुम्बासी बस्तीका १३ पीडित परिवारलाई टिनको जस्तापातासहित राहत सामग्री प्रदान गरिएको छ। बाढीको भेलले छाप्रोको घर बगाउँदा ती १३ मध्ये १० परिवार घरबारविहीन बनेका छन्।

एक सातादेखि खुला आकाशमा बस्दै आएका ती परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उपमेयर लक्ष्मी साउ गुप्ताले पीडित परिवारलाई जस्तापाता र खाद्यान्न हस्तान्तरण गरिन्। १० पीडित परिवारलाई घर जग्गाको नापका आधारमा कूल २ सय ६३ वटा जस्तापाता बाँडिएको उपमेयर गुप्ताले बताइन्। यस्तै १३ परिवारलाई प्रतिपरिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ।

उपमेयर गुप्ताले पीडित परिवारलाई नगरपालिकाले मल्हम लगाउने काम गरेको बताइन्। ‘नगरपालिका पीडित परिवारको साथमा छ,’ उनले भनिन्। घर बनाउनका लागि आवश्यक फलामको खाँबो लगायतका आवश्यक अरु चिज पनि दिइने उनले बताइन्। बर्षौंदेखि झुपडीमा बस्दै आएकोमा त्यो घर पनि बाढीले बगाएपछि पीडित बनेका बावुराम दमाईले नगरपालिकाले आफूहरुलाई साथ दिएको बताए। पानीले घरसहित खाद्यान्न अन्नपातलगायत सबै सामान नोक्सान हुँदा आफूहरुको जीवन कष्टकर बेनेको बताए। ‘अब हामी पनि जस्तापाताको घरमा बस्न पाउने भयौं,’ उनले भने। जस्तापातासहित राहत पाएपछि पीडित परिवार खुसी भएका छन्। जस्तापातसहित राहत सामग्री नगरपालिकाको ट्याक्टरले पीडित परिवारको घरमै पुर्याएको थियो।

प्रकाशित मिति : १७ भाद्र २०७८ बिहिबार ००:००  ५ : २५ बजे