अमेरिकाविरुद्ध नेपालको जित, कुशल र रोहितको अर्धशतक



एजेन्सी ।
हिजोदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो।नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ६२ रन जोडे। उनले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे। उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका ओपनर कुशलले ८४ रनको योगदान दिए। उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २३ रन जोडे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो।

कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट हुँदा कुशल मल्लले १ रनमै पेभिलियन फर्के।त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो।

अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए।४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमशः १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए।सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे।

करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए।बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २–२ विकेट लिए।यो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस