यी देशका राजदूत फिर्ता हुँदैछन्


काठमाडौं ।
सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायतका सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ ।

यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फिर्ता हुनुपर्ने छ ।

यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलगायतका राजदूतसमेत फिर्ता हुनेछन् । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो । त्यो निर्णयसमेत वर्तमान सरकारले फिर्ता गरिसकेको छ ।

राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस