१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा (एस) निकट अनेरास्ववियू र युवा संघ नेपाल कपिलवस्तुको अध्यक्ष तोकियो



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले आफ्ना भातृसंगठन अनेरास्ववियू र युवा संघ नेपालको जिल्ला अध्यक्ष तोकेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले अनेरास्ववियूको जिल्ला अध्यक्षमा दिपक अनुरागी र युवा संघ नेपालको जिल्ला अध्यक्षमा कृष्ण कार्कीलाई जिम्मेवारी तोकेको हो ।

अनेरास्ववियूको जिल्ला अध्यक्ष हुनुभएका अनुरागी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला संयोजक हुनुहुन्थ्यो । गएको माघमा भएको जिल्ला भेलाले उहाँलाई अनेरास्ववियूको जिल्ला संयोजक बनाएको थियो । यद्यपि फाल्गुण २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गराएर पूर्ववत एमाले र माओवादीमा फर्काएसंगै अनुरागी समानान्तर अनेरास्ववियुको जिल्ला अध्यक्ष हुनुभएको थियो ।

युवा संघ नेपालको जिल्ला अध्यक्ष कार्की युवा बीच लोकप्रिय हुनुहुन्छ । पिपरा निवासी कार्कीलाई युवाको जिम्मेवारी दिएपछि संघ जिल्लामा मजवुत बन्ने विश्वास पार्टीले लिएको छ ।

दुवै संगठनको पदाधिकारी भने जिल्ला स्तरको भेलाबाट पूर्णता दिइने नेकपा (एस) कपिलवस्तुले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गरेपछि दुवै भातृसंगठनको जिल्ला सम्मेलन गरेर नेतृत्वलाई पूर्णता दिने जनाइएको छ ।

यस्तै अनेमसंघ, मुस्लिम इत्तेहात संगठन, नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठनको नेतृत्व पनि चाडै टुंगाउने नेकपा (एस) कपिलवस्तुको तयारी छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  ६ : २५ बजे