११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

रुपन्देही बाट भन्सार छलेर गोदामा राखिएको २५ लाख बराबरको सामान बरामद



रुपन्देही ।
रुपन्देही प्रहरीले दसैंमा बेचबिखन गर्न भन्सार छलेर ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।

रोहिणी गाउँपालिका २ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

उनका अनुसार कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद भएको छ।

चाडबाडलक्षित सुरक्षा योजना अनुसार चोरी तस्करी र अपराध नियन्त्रणमा खटिएको प्रहरीले भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।
बरामद सामान आइतबार भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए। यो सामान कसले ल्याएर गोदाम गरेको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७८ शनिबार ००:००  १ : ०४ बजे