२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन



काठमाडौं ।
पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नका लागि बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।

सरकारलाई पूर्णता दिने विषयमा परिणाममुखी ढंगले काम अगाडि बढाउने शीर्ष नेतालाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीको अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिए।

उनले भने, ‘मन्त्रिपरिषद् विस्तारलाई अब ढिलाइ गर्न हुन्‍न भन्ने कुरामा सबै दलका नेताहरु एकमत हुनुहुन्छ। त्यसैले अब तत्कालै दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर सरकारले पूर्णता पाउँछ।’

अध्यादेश भोलि नै फिर्ता लिनेबारे सहमति बनेको होरु भन्ने प्रश्नमा नेता यादवले भने, ‘भोलि नै भन्ने छैन। तर, अब शीर्ष नेताहरूले परिणाममुखी ढंगले काम गर्नुहुन्छ। चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा हामी ढुक्क छौँ।’

बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेता महेन्द्र राय यादवलगायत शीर्ष नेताहरूको सहभागिता थियो।

प्रधानमन्त्री देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको आज ७५ दिन पूरा भइसके पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

राजनीति दलसम्बन्धी अध्यादेश र मालदार मन्त्रालयमा नेताहरूबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जसपा अध्यक्ष यादवको अडान छ। यता, सर्वोच्च अदालतमा माधव नेपालको पार्टीविरुद्धको मुद्दासमेत किनारा लागिसकेको छैन।

हालसम्म देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन मन्त्रीमा ज्ञानेन्द्र कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थ, ऊर्जा मन्त्रीमा पम्फा भुसाल, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्।

अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालबाहेक सबै कांग्रेसकै हुन्। सरकारको नेतृत्व गरेको लामो समय बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर सरकारको आलोचना भइरहेको छ। दलहरुबीच अझै सहमति बन्न नसक्दा मन्त्रीपरिषद् विस्तार तत्कालै हुने छाँट देखिएको छैन।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  १ : २७ बजे