५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एकीकृत समाजवादीप्रति एमालेको निषेध राजनीति



काठमाडौं ।
एमालेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)प्रति निषेधको राजनीति सुरु गरेको छ । अध्यादेशमार्फत विभाजन भएको पार्टी नेकपा एसका सांसदलाई प्रवेश निषेधको माग राख्दै निरन्तर संघीय संसद् अवरोध गर्दै आएको एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकसमेत बहिष्कार गरेको छ ।

सार्वजनिक अभिव्यक्ति र राजनीतिक दस्ताबेजमा नेकपा एसलाई राजनीतिक शक्तिको मान्यता दिन आनाकानी गरेको एमालेले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गरेको छ । र, कारण देखाएको छ– नेकपा एसको उपस्थिति । कानुनको जगमा दलहरू भएको विभाजनलाई संवैधानिक निकाय निर्वाचन आयोग र संसद्ले मान्यता दिए पनि एमालेले नेकपा एसलाई मान्यता दिन लगातार अस्वीकार गरेको छ ।

यतिसम्म कि एमाले अध्यक्ष केपी ओलीको विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा ‘निहित स्वार्थ, कुष्ठा र प्रतिशोधको जगमा उभिएको तथा विपक्षी शक्तिहरूको दुरुत्साहन र योजनामा जन्मिएको यस समूहप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र जनताको आपत्ति, आक्रोश र तिरस्कार’ रहेको भन्दै नेकपा एसप्रति लिइने नीतिको संकेत छ । एमालेले एकीकृत समाजवादीलाई कुनै राजनीतिक शक्ति नभई ‘निहित स्वार्थ, कुण्ठा र प्रतिशोधको जगमा उभिएको, विपक्षी शक्तिहरूको दुरुत्साहन र योजनामा जन्मिएको समूह’ भनेर उल्लेख गरेको छ ।

एमालेले यही निषेधको राजनीतिलाई संसद्देखि सर्वदलीय बैठकसम्ममा अपनाएको छ । बिहीबार प्रधानमन्त्री देउवाले संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राजनीतिक दलहरूले सहमतिमार्फत संसद्को अवरोध हटाउन आग्रह गरेपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, त्यही बैठकमा विपक्षी भने सहभागी भएन । एमालेले लिएको निषेधको राजनीतिप्रति सत्तागठबन्धनको असन्तुष्टि छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवादबाट भागेको आरोप लगाए । ‘उहाँहरू संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ,’ सर्वदलीय बैठकपछि उनले भने । राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले प्रधानमन्त्रीलाई संघीय संसद्को अवरोध हटाउन भूमिका खेल्नु भनेपछि सर्वदलीय बैठक बोलाइएको कार्कीको भनाइ थियो ।

एमालेले आफूले सिफारिस गरेका आधारमा माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै २३ भदौयता संसद्मा निरन्तर अवरोध गरिरहेको छ । तर, बिहीबार त्यही अवरोध हटाउनका लागि बोलाइएको बैठकमा भने एमाले नै उपस्थित भइदिएन । यसअघि २८ भदौमा प्रतिनिधिसभामा जारी अवरोध हटाउने विषयमा छलफल गर्नका लागि सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठकको आह्वान गरेका थिए । एकीकृत समाजवादीले एमालेलाई संसद् बहिष्कार गरेर देखाउन चुनौती दिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले नयाँ पत्रिकासँगको कुराकानीमा आफूहरू भएको बैठकमा सहभागी हुँदैन भन्नुको कुनै तुक नरहेको भन्दै एमाले अनुशासन, विधि र पद्धतिलाई नमान्ने बाटोमा हिँडेको प्रतिक्रिया दिए । -नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १५ आश्विन २०७८ शुक्रबार ००:००  ८ : २० बजे