१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेकपा (एस) ले चार जना पदाधिकारी थप्यो



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनीत गरिनेछ ।

केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि शुक्रबार केन्द्रीय सचिवालयले नामावली टुंगो लगाउने र शुक्रबार वा शनिबार नाम सार्वजनिक गर्ने उनले बताए । नेकपा (एस) को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ । ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राख्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

केन्द्रीय विभाग २५ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी व्यवस्था गरिएको उनले जानकारी दिए । नेकपा (एस) ले जिल्ला कमिटी १०१ सदस्यीय गठन गर्ने निर्णय गरेको छ ।

बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी पनि गठन गरेको छ ।

पार्टीले केन्द्रीय कार्यालयसमेत गठन गरेको छ । महासचिव वेदुराम भुसालको संयोजकत्वमा गंगालाला तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।

यस्तै पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ ।

बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ । उनले प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारीसमेत दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  ९ : ०३ बजे