१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विकट गाउँदेखि मन्त्रीको कुर्सीमा पुग्ने को हुन रामकुमारी ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
वि.सं. २०३४ सालमा गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँक्रीको जन्म भएको हो ।

रामकुमारी झाँक्रीको एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउँमै जन्म भएको हो । उनको माध्यमिक तहको शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहबाट उत्तीर्ण गरेकी हुन् भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडौवाट भएको हो ।

सानै उमेरदेखि राजनीति चासो राख्ने उनी पृथ्वी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा पहिलोपटक सदस्यमा जोडीएकी हुन् । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री हाल प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी सांसद् हुन । समाजवादी पार्टीकी केन्द्रीय सचिव रहेकी झाँक्रिको राजनीति यात्रा विद्यार्थी राजनीति पृष्ठभूमिबाट शुरुवात भएको हो ।

२०६५ सालमा तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा–महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन् । गोकुल घर्तीलाई ७ सय मतअन्तरले पराजित गर्दै अनेरास्ववियुको ४० बर्षपछि अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला नेतृ बनेकी थिइन्। त्यसपछि राजनितीमा उनको चर्चा झन चुलिएको हो ।

उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, महिला विभाग प्रमुख, प्रचार प्रसार विभाग प्रमुख, सचिव, उपाध्यक्ष हुँदै खुल्ला राजनीतिवाट अध्यक्षमा विजयी भएकी हुन् ।

नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको सचिव छिन् । तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा सदस्य पदमा समेत उनी निर्वाचित भएकी थिइन् ।

राजनीति जीवनमा उनले पटक पटक प्रहरी हिरासतमा दिनहरु विताएकी छिन् भने कयौंपटक आन्दोलनको क्रममा घाइते भएर अस्पतालको वेडसम्म पुगेकी छिन् ।

पछिल्लोपटक तत्कालीन प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालदेखि चियापसलसम्म उनको बारेमा चर्चा परिचर्चा सुरु भयो । झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन भएको भन्दै सरकारको आलोचना समेत गरे।

गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन्। उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम प्रक्राउ पूर्जी दिइएको थियोे । तर चर्को बिरोधपछि प्रहरीले सोहि दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।

उनको २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको हो । एक छोराकी आमा रहेकी नेतृ झाँक्री विवाहपछि पार्टीभित्रको आन्तरिक कारणले राजनीतिमा जिम्मेवारी पाउने विषयमा परिनन् । केही समय निष्क्रियजस्तै देखिएपनि उनी सधै राजनीतिमा सक्रिय नै रहेकि छन। लामो समयको प्रेमपछि विवाह गरेकी झाँक्रि विवाह अगाडि र पछाडि पनि राजनीति यात्रासङ्गै अन्य यात्रामा पशुपतिजीको साथ र सहयोग रहदैँ आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  ६ : २४ बजे