२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

बर्दियामा नगरपालिकाको अनुमतिबिनै भवन निर्माण



बर्दिया ।

जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको करिब १० धुर सार्वजनिक जग्गामा गैरकानुनी रूपमा दुईतले पक्की भवन निर्माण गरिएको छ । हनुमान मन्दिर समितिले पालिकाको अनुमतिबिनै भवन निर्माण गरेको हो । भवनमा ८ कोठा तयार हुन थालेपछि पालिकाले रोक लगाएको थियो । भूकम्पकीय मापदण्डविपरीत र स्वीकृतबिना भवन निर्माण गरेपछि निर्माण कार्य रोकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । राजापुर–४ का वडाध्यक्ष रमण रेग्मीले मन्दिर व्यवस्थापन समितिले अधिकार क्षेत्रबाहिर गई भवन निर्माण गर्नु गैरकानुनी भएको बताए ।

उक्त भवन निर्माण स्थानीय गौरव अग्रवालले गरेका हुन् । भवन निर्माण भएको जग्गाको पुर्जासमेत नभएको र प्राविधिकको स्वीकृतबिनै भवन बनाइएको हो । अग्रवालले अहिलेसम्म करिब ४० लाख रुपैयाँ भवन निर्माणमा खर्च गरिसकेका छन् । भुइँतलामा सटर राखेर पसल भाडामा दिने र माथिल्लो तलाका कोठामा व्यक्ति विशेषलाई आजीवन निःशुल्क बस्ने व्यवस्था गरिएको छ । मन्दिर समितिको निर्णय अनुसार भवन निर्माण भएको हो । समिति उपाध्यक्ष जगन्नाथप्रसाद कसौधनले पालिकाले भवन निर्माण गर्न अनुमति नदिएको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ५ : ३४ बजे