६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

जनगणनाको तयारी अन्तिममा चरणमा, गणकका लागि तालिम शुरु



काठमाडौं ।

राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि शनिबारबाट अन्तिम चरणको तालिम शुरु भएको हो । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । कुल ३९ हजार गणक देशैभर खटिनेछन् । गणकका लागि तालिम १३ कात्तिकबाट १६ कात्तिकसम्म चल्नेछ । ट्याब प्रयोग हुने काठमाडौंमा भने १७ गतेसम्म गणकको तालिम चल्ने विभागले जानकारी गराएको छ ।

तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने भन्दै तालिम सञ्चालन शुरु गरिएको हो । गणकले स्थलगत काममा गल्ती नगरुन् भने कक्षागत रुपमा अभ्यास समेत गराइने भएको छ ।

गणकलाई कसले दिन्छ तालिम ?

विभागका अनुसार गणकलाई तालिम दिन कलेजका शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृत स्तरका कर्मचारी र स्नातकोत्तर तह उत्तीर्ण गरेका सुपरीवेक्षक समेत गरी १५ सय जना प्रशिक्षक खटिएका छन् । केन्द्रीय तथ्यांक विभाग तथा मन्त्रालयका अधिकृत, यूएनएफपीय र केन्द्रीय विभाग जनसंख्याशास्त्रका जनसंख्याविद् गरी करिब एक सय जना देशभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनमा खटिएको समेत विभागले जनाएको छ ।

एक परिवारको गणना गर्न ३० मिनेटसम्म लाग्ने

जनगणनाका दौरान एक घर परिवारमा एक जना गणकले २० देखि ३० मिनेटको समय लगाएर प्रश्नावली भर्ने भएका छन् । यस पटक जनगणनामा घर परिवारका लागि सोध्न कुल ५५ वटा प्रश्न बनाइएको छ । हरेक घर परिवारमा पुगेर गणकले घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत विवरण भर्छन् । व्यक्तिको नाम, उमेर, घरमूलीसँगको नाता, शिक्षा, पेशा, रोजगारीका क्षेत्र, जाति, धर्म, भाषा, बसाइसराइ, अपांगता जस्ता विषयमा प्रश्न सोधिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  १ : ५५ बजे