३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा



विराटनगर ।
प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचर्याले राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिएका हुन् ।

आचार्य गत भदौ १० शेरधन राइले राजीनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए। प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

एक सिट रहेको राप्रपा मौन छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८ सोमबार ००:००  २ : ३५ बजे