२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा



काठमाडौं ।

इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान डसुन शनकाले २६ रन जोडे।

यस्तै भानुका राजपाक्षेले २६ रन जोड्दा चारिथ असलंकाले २१ रन बनाए । अभिस्का फर्नान्डो १३ रनमा आउट भए । इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २र२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १र१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।

यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । जासन रोयले ९, डाविड मालनले ६ तथा मोइन अलीले अविजित १ रन बनाए । जोनी बेयर्स्टो भने सुन्य रनमा आउट भए ।श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।

जितसँगै समूह १ मा रहेको इंग्ल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ ।समूहको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टिम समेत बनेको छ ।अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस अघि इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो । श्रीलंकाको भने यो तेस्रो हार हो । श्रीलंका ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८ मंगलबार ००:००  ६ : २९ बजे