८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

माधव नेपाल : मिडियाका साथीहरू राम्रो आचरण विकास गर्नुहोस्




काठमाडौं ।
नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले आफूनिकट पत्रकारहरूलाई रक्सी खाने बानी छाड्न निर्देशन दिएका छन्।
पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामीसँग जोडिएका मिडियाका साथीहरू राम्रो आचरण विकास गर्नुहोस्। मैले पार्टीका नेताहरूलाई पनि भनेको थिएँ।

अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ, गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे। अँध्यारो हुन पाएको छैन होटलमा जम्मा हुने। टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्छन् रे।’

रक्सी खाएर घरमा गएर झगडा गर्ने र समाजमा पनि नराम्रो असर पर्ने भएकाले नेता तथा पत्रकार सबैलाई होटलमा छिरेर रक्सी खाने बानी छोड्न आग्रह गरेको उनको भनाइ छ।

‘सर्लाहीमा पनि होटेलमा रक्सी खाने पार्टीका नेता को होलान् भनेर मैले फोटो लिनु भनेको थिएँ। त्यहाँ भागाभाग भएछ’ उनले पत्रकारहरूलाई भने, ‘तपाईंहरूमध्ये पनि कसैलाई पाँचतारे होटेल धाउनुपर्ने, रक्सी नखाई निद्रै नपर्ने भएको छैन होला। त्यस्तो नहोस् पनि। मैले थाहा पाएँ भने म राम्रो मान्दिनँ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८ शनिबार ००:००  १ : ०९ बजे