१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

आज हुने भनिएको काँग्रेश कपिलवस्तुको क्षेत्रीय चुनाव अचानक स्थगित



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय चुनाव स्थगित भएको छ । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको जिल्लामा आज मतदानको निर्वाचन कार्यतालिका रहेकोमा अन्तिम समयमा आएर चुनाव स्थगित भएको हो । पार्टी सभापति सुरेन्द्रराज आचार्यले एक सुचना जारी गरी प्राविधिक कारण जनाउँदै मतदान स्थगित गरेको जानकारी दिनुभयो । पार्टीको अर्को सुचना प्रकाशित नहुँदासम्मको लागि मतदान स्थगित गरिएको आचार्यमार्फत् जारी सुचनामा भनिएको छ । मतदानका विषयमा थप छलफल आवश्यक रहेको पार्टीको धारणा छ ।
सोमबार तीन वटै क्षेत्रमा उम्मेद्वारी दर्ता गरेरका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका थिए । सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा दुवै पक्षले प्यानल बनाएर चुनावी प्रचारमा छन् ।

क्षेत्र नं. १ मा टेकबहादुर शाही र अब्दुल मन्नान बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै क्षेत्र नं. ३ मा हरि प्रसाद पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच सभापतिमा प्रतिस्पर्धा हुने चर्चा छ ।
सोमबार मनोनय दर्ताको क्रममा दुवै पक्ष बीच खटपट देखिएको थियो । विवादले उग्ररुप लिन थालेपछि निर्वाचन समितिले वार्ता बसालेर सहमतिको प्रयास थालेको थियो । यद्यपि यो विवाद समाधानका लागि मंगलबार विहान वार्ता बस्ने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८ मंगलबार ००:००  ७ : ४४ बजे