१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल अवे मैदानमा विजयी



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा रहेका चेल्सी, म्यानचेस्टर सिटी तथा लिभरपुलले बुधबार राति भएका खेलमा जित निकालेका छन् ।

अवे मैदानमा भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । चेल्सीका लागि २९ औँ मिनेटमा म्यासन माउन्ट तथा ७२ औँ मिनेटमा जियचले गोल गरेका हुन् ।

यस्तै वाट्फोर्डका लागि ४३ औँ मिनेटमा डेनिसले गोल गरे । जितपछि चेल्सीको १४ खेलबाट ३३ अंक भएको छ । १३ अंकसहित वाट्फोर्ड १७ औँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले अवे मैदानमा भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । सिटीका लागि २७ औँ मिनेटमा रुबेन डियाज तथा ४३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे ।

एस्टन भिल्लाका लागि ४७ औँ मिनेटमा वाट्किन्सले एक गोल फर्काएका हुन् । जितपछि सिटीको १४ खेलबाट ३२ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा तेस्रो स्थानको लिभरपुल पनि विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले एभर्टनलाई ४–१ ले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा हेन्डर्सन र जोटाले एक एक गोल गरे । एभर्टनका लागि ग्रेले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितपछि तेस्रो स्थानको लिभरपुलका १४ खेलबाट ३१ अंक भएको छ ।

बुधबार राति भएका अरु खेलमा लेस्टर सिटी र साउथह्याम्पटनले २–२, वेष्ट ह्याम र ब्राइटनले १–१ तथा वुल्भ्स र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ६ : ३७ बजे