२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियो




काठमाण्डौ ।

बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली बिहीवार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गएको मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेको थियो । बङ्गलादेशको मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराएको थियो ।

यस प्रतियोगितामा नेपाली महिला टोली लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

त्यस्तै पुरुषतर्फको खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग नेपाल तीन–शून्यको सोझो सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएको छ ।

सरकारले यस प्रतियोगितामा च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८ बिहिबार ००:००  ८ : २० बजे