४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

१७ दिनको अवधिमा फरार १ सय २ जना पक्राउ



परासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले १७ दिनमा १ सय २ जना फरार अभियुक्त पक्राउ गरेको छ । मिसन नै बनाएर प्रहरी परिचालन भएपछि २७ वर्षदेखि २ वर्षसम्म फरार रहेका अपराधी पक्राउ परेका हुन् ।

अदालतबाट सजाय तोकिएका तर फरार रहेका व्यक्तिलाई अहिले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

यसैगरी पश्चिम नवलपरासी प्रहरीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मनोजकुमार यादवले सबैभन्दा बढी भारतबाट अवैध रूपमा भित्र्याइएका सामान र भारततर्फ तस्करी गरिने मटर बरामद गरेबापत ४ करोड ७० लाख रुपैयाँबराबर राजस्व दाखिला गरेको बताए । त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन कारबाहीबापत ६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी अवैध वन पैदावर ढुवानीका क्रममा ५ लाख ५५ हजार रुपैयाँबराबरको राजस्व संकलन भएको छ । प्रहरीले असार १३ देखि पुस १५ गतेसम्म ३५ लाख ९० हजार स्रोत नखुलेको रकम बरामद गरेको छ । उक्त रकम र पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । प्रहरीले ६ महिनाको अवधिमा १४ वटा मुद्दा दर्ता गरेको छ भने २९ जनालाई पक्राउ गरेको छ । तीमध्ये २७ जना नेपाली र दुई जना भारतीय नागरिक छन् ।

उनीहरूको साथबाट प्रहरीले ६ महिनाको अवधिमा १० किलो चरेस, २ सय ग्राम गाँजा, ४ सय ७० ग्राम ब्राउन सुगर, ६ सय २७ एम्पुल डाइजेपाम, फेनरागन ६ सय ३८ एम्पुल, नाइट्राभेट १२ सय ५३ ट्याब्लेट, स्पास्मो ७ सय २८ ट्याब्लेट, कोरेक्स ११ बोतल, ओनरक्स ५ बोतल र अल्फाजोल ८ बोतल बरामद गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  १ : ४७ बजे