त्रिभुवन विमानस्थलमा अत्यावश्यक बाहेक भिजिटर पास बन्द


काठमाडौं ।

कोभिड–१९ को बढ्दो संक्रमणसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । कोभिड–१९ को जोखिमसमेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको छ ।

यस्तै, विमानस्थल कार्यालयले अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नजान आग्रह गरेको छ । “यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआइदिन यस कार्यालयबाट पटक–पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन,” सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरूमा कोभिड–१९ तीव्र रूपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरियन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरूलाई बचाउन विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिनुहुन विशेष अनुरोध गरिन्छ ।”

साथै, हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डहरूको परिपालना गरी÷गराई मात्र दैनिक हवाई सेवा सञ्चालन गर्न र गराउन सबै सरोकारवालाहरूलाई उड्डयन कार्यालयले आग्रह गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस