१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा कम



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको तेस्रो लहरमा गएको माघको मध्यतिर सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जना पुगेको थियो । नेपालमा अहिलेसम्म नौ लाख ४२ हजार सात सय ३७ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै २४ घण्टामा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी सात हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय दुई जना पुगेको छ ।
यसैबीच २४ घण्टामा थप ४३ हजार आठ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  ५ : ३७ बजे