९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन बनाउने तयारी



काठमाण्डौ ।

सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ नियमन विधेयक २०७८ तयार पारेको हो ।

विधेयक तयार पारेर गएको फागुन १० गते गृह मन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, बिक्रीरवितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ । यो विधेयक कानुन भएर आएपछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।

मन्त्रालयले केही दिन अगाडि सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ । काठमाण्डौ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै सङ्घ–संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८ बिहिबार ००:००  ६ : २५ बजे