९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’



काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई धारमा बाँडिएको जसपामा शनिबार यस विषयमा निर्णायक छलफल हुने भएको छ ।

शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार पनि जारी रहने भएको हो भने सो बैठकमा एमसीसीको विषयमा गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् ।

जसपाका नेता ईस्तियाक राईले शुक्रबारको बैठकमा अमेरिकासँग भएको एमसीसीको सम्झौतापत्र अध्ययनका वितरण गरिएको र त्यो सम्झौतापत्रका सन्दर्भमा आज नेताहरुले धारणा राख्ने बताए । नेताहरुको धारणापछि पार्टीले आवश्यक निर्णय गर्नेछ।

जसपामा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चाहिँ पक्षमा उभिएका छन् । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ । सुरुदेखि नै यादव र भट्टराईबीचको विवादले फुट उन्मुख रहेको सो पार्टीमा एमसीसीले थप जटिलता पैदा गरेको नेताहरुको भनाइ छ ।

राजधानीको एक पार्टी प्यालेसमा चलेको बैठकअन्तरगत शुक्रबार १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको हो ।

यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए । यस्तै अन्तिम समयसम्म बैठकस्थलको विषयमा स्थान प्रष्ट नपारिएको विषयमा पनि नेताहरुले आक्रोश पोखेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८ शनिबार ००:००  ९ : १९ बजे