दाङ ।
नेपाल विद्युत् प्राधिकरण घोराही दाङमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव भएको छ ।
विद्युत् जडानका लागि १ हजार ९ सयभन्दा बढी ग्राहकले निवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको विद्युत् प्राधिकरण घोराही दाङले जनाएको छ ।
विद्युत् प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाइ गर्दा दाङमा मिटर बक्स पुर्याउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र नयाँ ग्राहक सेवा फाँटका जङ्गबहादुर घर्तीले जानकारी दिनुभयो ।
मिटर बक्स नभएपछि धेरै ग्राहकहरुले घरमा वाइरिङ गरे पनि लामो समयसम्म मिटर बक्स पाउन नसकेको गुनासो गर्दै आएका छन् । वितरण केन्द्रमा विद्युत् लाइन जडानका लागि करिब १ हजार ९ सयभन्दा बढीको आवेदन परेको छ। आर्थिक वर्ष २०७८ र ०७९ को अहिलेसम्म १ हजार ९ सय ४५ जनाको आवेदन परेको हो । विद्युत् विस्तारसँगै सहरी क्षेत्रमा जनसङ्ख्या बढ्दै गएपछि घोराहीमा विद्युत् जडान गर्नेका लागि निवेदन दिने ग्राहकहरुको सङ्ख्या समेत बढ्दै गएको छ ।
विद्युत् जडानका लागि आवेदन दिएकामध्ये अहिलेसम्म ६ सय ३० जनाको घरमा विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । विद्युत् जडानका लागि आवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया