१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित



पर्वत ।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि बागलुङको बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बनमा परेका छन्।

बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा–४ का वडाध्यक्ष धुव्रवहादुर केसी, तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सब इन्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन्। अख्तियारले उपप्रमुख खड्कासहित ८ जनालाई भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो।

निलम्बनमा परेसँगै उनीहरूले पाउने सुविधा पनि कटौती भएको छ। जनप्रतिनिधिले चढ्दै आएका गाडी र मोटरसाइकल फिर्ता गरेका छन् भने उनीहरूको कार्यकक्षमा राखिने ‘नेम प्लेट’ पनि निकालिएको छ।

मुद्दा परेपछि अख्तियारले पत्र पठाएर उनीहरूलाई कारबाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्काले चढ्ने गरेको जिप, इन्जिनियरले चढेका मोटरसाइकल, उनीहरूले प्रयोग गरेका ल्यापटप लगायतका सामाग्री पनि फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए। अख्तियारले पत्र पठाएर कारबाहीमा साथ दिनु भनेकोले सोही अनुसार काम भइरहेको उनको भनाइ छ।

बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७८ मंगलबार ००:००  १ : २९ बजे