१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी विकास कोषको नवनियुक्त कोषाध्यक्ष र सदस्यहरुलाई कार्यालयमा स्वागत



कपिलवस्तु ।

लुम्बिनी विकास कोषको कोषाध्यक्ष सहित ९ जना परिषद सदस्यहरुलाई कार्यालयमा पदभार तथा स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो ।

नवनियुक्त कोषाध्यक्ष भट्टराई सहितका परिषद सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य लगायतले कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पदभार तथा स्वागत गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम साथै तिलौराकोट, देवदह लगायत बुद्धसँग सम्वन्धीत स्थानको विकासमा लागी पर्ने बताउँदै त्यसको लागि सबैको सहयोग, सहकार्य जरुरी रहेको बताउनुभयो । कार्यक्रममा कोषका उपाध्यक्ष अवधेश कुमार ज्ञिपाठीले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन कोषाध्यक्ष र परिषद सदस्यहरुको नियुक्तिले उर्जा प्रदान गरेको बताउनुभयो ।

सो अवसरमा सदस्य सचिव सानुराजा शाक्यले कोषको कोषाध्यक्ष र सदस्यहरु रिक्त हुँदा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताउनुभयो ।

कोषका अधिकृत ज्ञानिन राईको सञ्चालनमा भएको स्वागत कार्यक्रममा सूचना अधिकारी राजन बस्नेत लगायतले बोल्नुभएको थियो ।
सरकारले नियुक्त गरेको कोषाध्यक्ष भट्राई गुल्मीमा जन्म भइ विगत तीनदशकदेखीरुपन्देही निवासी हुनुहुन्छ । लुम्बिनीबारे लामो समय अध्ययन गर्दै आउनुभएका उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएको छ ।

सरकारले यसपालि कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट कोषको परिषद सदस्यमा नियुक्त गरेकाले समग्र बुद्धस्थलको विकासमा टेवा पुग्ने स्थानीयमा आशा पलाएको लुम्बिनी विकास कोषका प्रेस सल्लाहकार विकास बन्जाडेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८ बुधबार ००:००  ८ : २२ बजे