२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा ’सेटिङको ठेक्का’ रद्द



काठमाडौँ ।

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा गरिएको ‘सेटिङ’ को ठेक्का रद्द भएको छ । सीमित निर्माण व्यवसायीले मात्र पाउने किसिमले ठेक्काको बोलपत्र आह्वान गरिएपछि मिलेमतो भएको आशंकामा आलोचना भएको थियो । चौतर्फी दवाव बढेपछि ठेक्का प्रक्रिया रद्द गरिएको लुम्बिनी अन्तर्गत प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

ठेक्का रद्दसँगै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले सोमबार नै राजीनामा दिएका छन् । उनले दवाव धान्न नसकेको बताउँदै राजीनामा दिएका हुन् । ‘ठेक्कामा मिलेमतो जस्तो पनि देखियो, यसको भागिदार जीवनभर हुनु छैन भनेर मंगलबारबाट लागू हुनेगरी राजीनामा दिएको हुँ,’ कार्यकारी निर्देशक घिमिरेले भने ।’ उनले खरिद ऐन २०६३ को दफा २६ अनुसार ठेक्का प्रक्रिया रद्द गरेर राजीनामा दिएको दाबी गरे । राजीनामा पत्र लुम्बिनी प्रदेश सरकारलाई इमेल गरेर पठाइसकेको उनले जानकारी दिए ।

रसुवाका सांसद मोहन आचार्य र कांग्रेस निकट रमेश शर्माको निर्माण कम्पनीलाई मात्रै अनुकूल हुनेगरी मापदण्ड बनाएर अस्पताल निर्माणका लागि पाँच अर्ब रुपैयाँको ठेक्का दिन लागिएको थियो । गत फागुन ८ मा ठेक्काका लागि बोलपत्र आह्वान गरेको थियो ।

पूर्वाधार विकास प्राधिकरण दाङ प्रतिस्पर्धाबिना ठेकेदार सांसद आचार्यको रसुवा कन्स्ट्रक्सन र रमेशको शर्मा एन्ड कम्पनीलाई ठेक्का दिने तयारीमा थियो । खरिद ऐनमा नभएको मापदण्ड कायम गरी ठेक्का गरिएको भन्दै अन्य निर्माण व्यवसायीले विरोध गर्दै आएका थिए ।सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राधिकरणलाई ध्यानाकर्षण पत्र पठाउँदै सो बोलपत्र उल्लिखित प्रावधानको प्रतिकूल देखिएको जनाएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८ मंगलबार ००:००  ६ : ०७ बजे