१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि



एजेन्सी । अष्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अष्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसिय महिला विश्वकपको उपाधि जितेको हो ।

३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३।४ ओभरमा २ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १५ चौका र १ छक्कासहित १ सय ४८ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीलाई विश्वकप च्याम्पियन बनाउन सकिनन् । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन् । जेस जेनसेन ८।४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । मेगन स्कटले २ विकेट लिइन् ।

त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो ।

ओपनर हेलीले १ सय ३८ बलमा २६ चौकासहित १ सय ७० रनको सानदार शतकीय इनिङ खेलिन् । हेलीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको पाँचौं शतक हो । जारी विश्वकपमा हेलीको लगातार दोस्रो शतक हो । हेलीले सेमिफाइनलमा वेस्टइन्डिजविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

हेलीले महिला र पुरुष दुबै विश्वकप फाइनलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएकी छिन् । यसअघि विश्वकप फाइनलमा पुरुषको तर्फबाट २००७ को विश्वकपमा अष्ट्रेलिया एडम गिलक्रिष्टले श्रीलंकाविरुद्ध १ सय ४९ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्की ओपनर राहेल हेन्स ९३ बलमा ७ चौकासहित ६८ रनमा आउट भइन् । पहिलो विकेटका लागि हेन्स र हेलीले २९।१ ओभरमा १ सय ६० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । बेथ मुनीले ४७ बलमा ८ चौकासहित ६२ रन जोडिन् । मेग ल्यानिङले १० र एलिस ऐरीले १७ रन बनाइन् । अन्या श्रुब्सोले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् ।

अष्ट्रेलियाले यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  २ : ३६ बजे