२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

स्वास्थ्य बीमा बोर्डले अझै ७ अर्ब भुक्तानी गर्न बाँकी



काठमाण्डौ ।

बीमितहरुलाई उपचार गराए बापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरुले गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताए । उनले ६ वर्षको अवधिमा अस्पतालहरुलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए ।

यद्यपि बोर्डले सेवा प्रदायक संस्थाहरुलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरुले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र विविध कारणले तत्काल भुक्तानी दिने अवस्था नरहेकोे बताए ।

उनका अनुसार अस्पतालहरुबाट स्वास्थ्य बीमा बोर्डले प्राप्त गरेको कागजातहरु रुजु नगरीकन सरकारले भुक्तानी गर्न मिल्दैन । अस्पतालबाट प्राप्त भएका दाबीहरुलाई ‘दाबी परीक्षण शाखा’ले हेर्छ । अस्पतालबाट प्राप्त भएका कतिपय दाबीमा सच्चाइ नहुँदा पनि भुक्तानी गर्न गाह्रो र लामो समय पनि लाग्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘बीमितहरुको मेडिकल रेकर्ड आधुनिक तरिकाले राख्ने र रुजु गरेर भुक्तानी गर्र्ने व्यवस्था नभएकाले भुक्तानीका लागि केही ढिला हुन्छ ।’

स्वास्थ्य बीमा बोर्डले दुई वर्षको अवधिमा १५ अर्ब प्राप्त गरेको छ । अब स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन र स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न प्रदेश र स्थानीय तहलाई पनि जिम्मेवारी दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८ शुक्रबार ००:००  ७ : ५८ बजे