१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

राजनीतिक दलको बेवास्ताको कारण दलित समुदायको अधिकार कुण्ठित



मायादेवी अनलाइन, तौलिहवा ।
दलित समुदायको समस्यालाई राजनीतिक दलहरुले बेवास्ता गरेको कारण दलित अधिकार कुण्ठित भएको एक कार्यक्रमका सरोकारवालाले बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित दलित समुदायको सवाल र सरोकारवालाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा सहभागीले राज्यले जातिय विभेद र छुवाछुत अन्त्यको कानुन निर्माण गरेपनि व्यवहारमा कायम रहेकाले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।

कपिलवस्तु जिल्लामा दलित समुदायका सवाल, समस्या समाधानको चुनौती र आवश्यकताबारे छलफल गर्दै दलित समुदायको अधिकार सुनिश्चितताको लागि राजनीतिक दलहरुका नेतृत्वको सोच र व्यवहार बदल्नुपर्ने समेत बताएका थिए ।

१३ प्रतिशत भन्दा बढि दलित समुदाय बसोवास रहेको कपिलवस्तुमा गरिबी, बेरोजगार, अशिक्षा, बालविवाह, दाइजो प्रथा, विभेद, छुवाछुत, लैगिंक हिंसा जस्ता घटनाले दलित समुदायको अधिकार हनन् भएको बताएका थिए ।

कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदासले अवधारणा पत्र प्रस्तुत गर्दै संघीय संरचनामा मुलुक गएपनि दलित समुदायको अधिकार र सशक्तिकरणमा समाजमा अनेकौं समस्याहरु विद्यमान रहेको बताउनुभयो ।

जातिय विभेद, छुवाछुत र हिंसा कुनै पनि धर्म र जातका आधारमा नभई मानवीय व्यवहारले सिर्जना गरेको समस्या भएकाले हरेक व्यक्तिले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले सरकारले कानुन निर्माण गरेर जातिय विभेद र छुवाछुत गर्ने व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्ने र सम्वन्धित दलले कार्वाही गर्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले जातिय विभेद र छुवाछुतका मुद्धामा प्रहरी प्रशासनले यर्थात घटनालाई नबंगाई पीडितलाई न्यायको लागि विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष संजय कुमार पासीको अध्यक्षता, रिखिराम हरिजनको स्वागत तथा बिन्दवासिनी गौतमको संचालनमा सम्पन्न कार्यक्रममा महिला समूह, किशोरी संजाल, राजनीतिक दलका प्रतिनिधी, सामाजिक संघसंस्था, प्रहरी, वकिल, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  ७ : १३ बजे