४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जनता गरिब होलान् तर गवाँर छैनन्ः स्वतन्त्र उम्मेदवार न्यौपाने



मायादेवी अनलाइन, चारनम्बर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर चारको वडाअध्यक्ष पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी घोषणा गर्नु भएका चन्द्रकान्त न्यौपाने (शर्मा) ले जनता गरिब भए पनि गवाँर नरहेको बताउनु भएको छ । २०७४ सालको निर्वाचनको बेला चुनेर पठाएका जनप्रतिनिधिले घात गरेका कारण अब त्यो गल्ती दोहोर्याउने पक्षमा जनता नरहेको आफूले पाएको उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।

उम्मेदवारी घोषणा पछि वडाबासीलाई भेट्ने अभियानमा सुरु गर्नु भएका न्यौँपानेले भन्नुभयो ‘२१ औँ शताब्दिका जनता गरिब होलान्, विपन्न होलान्, पढेलेखेका नहोलान्, तर गवाँर भने छैनन् । गवाँर भनेको केही पनि नजान्ने हो । यस्तो खालका जनता छैनन् । हरेक परिवारमा अहिले सचेत युवा शक्ति पनि छ । कसले के गर्यो त्यो भने जाँचेबुझेका छन् । कसैले भ्रम नपाल्दा हुन्छ ।’

यो कुरा आगामी चुनावको नतिजाले देखाउने उहाँको दावी छ । न्यौपानेले अब मतदाता सचेत भइसकेको बताउँदै यसपटक सोचेजस्तो नतिजा कसैले पनि हासिल नगर्ने बताउनु भयो । उहाँले परिवर्तन खोजेका जनताले मस्तिष्क परिवर्तन गर्नै पर्ने बताउनु भयो । उहाँ थप्नुहुन्छ‘ तर यो अल्लि कठिन कुरा हो । जनताको दिमागमा अझै पनि एमाले, काँग्रेस, माओवादी, राप्रपाको छाप छ । त्यो तोड्न गारो भए पनि नतोडिएला भन्न सकिन्न । किनकि राजनीतिबाट जनता आजित भएका छन् । त्यही असन्तुष्टीकै कारण पत्रकार हुँदाहुँदै वडामा आफुले स्वतन्त्र उम्मेदवारी दिनु परेको उहाँको प्रष्टोक्ति छ । ‘आफैलाई मत खसाल्न परेन तर उम्मेदवारको कुण्डली पढीपढी सक्षम र इमान्दारलाई मत खसाल्नुहोला‘ उहाँले वडाबासीमा आग्रह गर्नुभयो । सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर रहनु भएका न्यौपानेको उम्मेदवारीले अहिले नगर र जिल्लामा चर्चा पाएको छ ।अरु पार्टीका उम्मेदवार भने अझै पनि तय भइसकेका छैनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ७ : ५२ बजे