१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती



नेपालगञ्ज ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बाँकेस्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । अन्य समयमा दुवै देशका सुरक्षाकर्मीले आआफ्नो देशभित्र गस्ती गर्दै आएकोमा निर्वाचनका बेला हुन सक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गरिरहेका छन् ।

नेपाल र भारतका सुरक्षाकर्मीले सिमानाको जमुनाह गेटदेखि पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म संयुक्त गस्ती गरेको नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ सई मीनबहादुर विष्टका अनुसार नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीको टोलीले सिमानाको दसगजा क्षेत्रमा सुरु गरेको संयुक्त गस्ती निरन्तर जारी रहने बताउनुभयो । उहाँले सो गस्ती जिल्लाको ६५ किलोमिटर पर्ने खुला सिमानाको सबै ठाउँमा गरिने जनाउँदै गस्ती सुरु गरिएपछि नाकामा निर्वाचन सुरक्षाको औपचारिक कार्य पनि सुरु भएको बताउनुभयो ।

निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुने निर्णय पनि एक÷दुई दिनमै गरिने जमुनाह प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएर मतगणना पूरा नभएसम्म दुवै देशका सुरक्षाकर्मीले नाकामा संयुक्त गस्ती गर्नुका साथै नाकामा रहेको दुवै देशका सुरक्षा पोस्टका चेकजाँचलाई पनि कडा पारिने बाँकेका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ४ : ०४ बजे