४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशिल



तम्घास ।

गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशिल रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।

जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिका गरी १५ वटा मतदान स्थलहरु अति संवेदनशिल रहेको समितिले जनाएको छ ।

यस्तै ,४१ वटा मतदान स्थलहरु संवेदनशिल र ८६ वटा मतदान स्थलहरु सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वेदनशिल स्थलहरुमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको हो ।

जिल्लामा कुल १४२ मतदान स्थल रहेका छन् भने मतदान केन्द्र भने २७९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायब सुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

कालीगण्डकी र मदाने गाउँपालिकामा १०र१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११र११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल रहेका छन् ।

त्यस्तै, धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुंगा नगरपालिकामा १५र१५ वटा मतदान स्थल रहेको पाण्डेले बताउनुभयो ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थल र मतगणना स्थलहहरुको निरीक्षणलाई तीव्रता दिएको छ ।

निर्वाचन स्थल, मतगणना स्थल र शान्ती सुरक्षाको अवस्थाको बारेमा निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी पुण्यव्रिकम पौडेलसहितको टोली कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाका विभिन्न स्थानहरुमा पुगेको छ ।

सोही क्रममा कालीगण्डकी गाउँपालिकाका एमाले नेता शिबहरी ढकालले स्वच्छ, शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

यस्तै, एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष झवीलाल पाण्डेले मतदाताहरुलाई सहज रुपमा मतदान स्थलसम्म जान यातायातको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभयो ।

कालीगण्डकी गाउँपालिकाका केही मतदान स्थलहरु भौगोलिक कारणले विकट भएकाले पैदल हिडेर मतादान स्थलसम्म आउँन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले समितिले जिल्लाका सम्पूर्ण मतदान स्थल र मतगणना स्थलहरुको निरीक्षण गरिसकेको जानकारी दिनुभयो ।

जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि एक सय ४२ मतदान स्थल रहेको छ भने दुई सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  १ : ०० बजे