२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

लुम्बिनी प्रदेशका तीन पालिकामा एमाले–माओवादीबीच तालमेल



रूपन्देही ।

केन्द्रको निर्देशनविपरीत लुम्बिनी प्रदेशका तीन स्थानीय तहमा एमाले र माओवादीबीच गठबन्धन भएको छ । गुल्मीका दुई र प्यूठानको एक पालिकामा दुई दलबीच तालमेल भएको हो । त्यस्तै रोल्पा र पूर्वी रुकुममा कांग्रेस र एमालेबीच पनि तालमेल भएको छ ।

गठबन्धनकै दल कांग्रेससँग सहमति जुट्न नसकेपछि माओवादीका स्थानीय नेताले एमालेसँग तालमेल गरेका हुन् । लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मीका दुई स्थानीय तह र प्यूठानको एक स्थानीय तहमा एमालेसँग तालमेल भएको हो । एमाले गुल्मीका नेता बालसिंह काउछाका अनुसार गुल्मीका धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर तालमेल गरिएको छ ।

त्यस्तै, गुल्मीकै कालीगण्डकी गाउँपालिकामा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर तालमेल गरिएको छ । धुर्कोटमा माओवादीका भूपाल पोखरेल अध्यक्ष र एमालेकी सीता गिरी उपाध्यक्षको उम्मेदवार छन् । वडामा सबै एमाले छ । धुर्कोटमा गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारी र नेकपा एकीकृत समाजवादीकी कमला सुनारले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । धुर्कोटमा यसअघि माओवादी र कांग्रेसको गठबन्धनबाट माओवादीका पोखरेलले अध्यक्षमा जितेका थिए । त्यो गठबन्धनको समयमा माओवादीले अर्कोपटक कांग्रेसलाई अध्यक्षमा सहयोग गर्ने सहमति गरे पनि अहिले पालना नगरेर घात गरेको गठबन्धनबाट कांग्रेसका अध्यक्ष बनेका भण्डारीले बताए ।

कालीगण्डकीमा एमालेबाट अध्यक्षमा रामजी ढकाल र उपाध्यक्षमा माओवादीकी मञ्जु दर्लामी मगर छन् । कालीगण्डकीमा वडा नं। २ र ४ मा माओवादीले वडाध्यक्ष लिएको छ । कालीगण्डकीमा कांग्रेसका वेद थापा मगर अध्यक्ष र जनमोर्चाकी तारा थापा उपाध्यक्षको उम्मेदवार बनेकी छन् । केन्द्रबाट गठबन्धनका शीर्ष नेताले पटक–पटक गठबन्धनभित्रै सहमति गर्न र अर्को दलसँग गठबन्धन नगर्न निर्देशन दिए पनि त्यो कार्यान्वयन नभएको हो । गुल्मीकै रेसुंगा नगरपालिकामा पनि माओवादीले पत्रकार सम्मेलन नै गरेर गठबन्धनको विरोध गरेको छ । रेसुंगा नगरपालिकामा गठबन्धनबाट कांग्रेसले प्रमुख र उपप्रमुख दुवै लिएपछि माओवादीले दुईवटा वडामा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रका नगर अध्यक्ष अशोक थापाले अन्यत्र एमाले हराउन गठबन्धन भएको भए पनि रेसुंगा नगरपालिकामा कांग्रेस हराउन माओवादी छुट्टै प्रतिस्पर्धामा उत्रिएको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  १ : ५९ बजे