६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

वाणगंगा ४ वासी भन्छन् ‘काँग्रेस र एमालेलाई मत दिन पटक्कै मन छैन, नयाँ खोज्छौँ’



मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाबासी काँग्रेस र एमालेसंग असन्तुष्ट रहेको बताएका छन् । चारदलीय गठबन्धनबाट सो वडामा वडा अध्यक्ष लगायत सदस्यको पदमा उम्मेदवारी दिएर घरदैलोमा हिँडेको टोलीसंग वडा नागरिकले सो कुरा बताएका हुन् ।

काँग्रेस र एमालेलाई नगरको नेतृत्व सुम्पिए पनि जनजिविकाको सवालमा केही गर्न नसकेको भन्दै उनीहरुले तीव्र असन्तुष्टि पोखेका छन् । गठबन्धनबाट वडा अध्यक्षको उम्मेदवार चन्द्रकान्त न्यौपानेसंगको टोलीसंग कुरा गर्दै थारु समुदायका एक जना पाका व्यक्तिले भन्नुभयो ‘पुराना कपडा लगाउँदा लगाउँदा थाकिसक्यौँ । यसपटक कपडा फेर्ने हो । पुरानो कट्टु, बन्दी लगाएर मिच्छिसक्यौँ ।

दरखास्तका ९४ बर्षिय एक जना बुबाले पनि अब पुरानो पाटीलाई मत नखसालेर युवकलाई दिने बताउनु भयो ।
आक्रोशित हुँदै बुङचीकी एक जना महिलाले भन्नुभयो ‘५ बर्षअघि भोट माग्न आउँदा अनेक सपना देखाए । अहिले एकपटक आउँदैनन् । छाडा चौपायको समस्या उस्तै छ । बाटाघाटा बनेका छैनन् । बनेका पीच ५ महिनामा भत्कन्छन् । अहिले रुख र सूर्यमा भोट दिन्नौँ । नयाँ र सक्षम ब्यक्ति जो छ उसैलाई दिने हो ।’ जो आए पनि जनताका समस्यासंग रहनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

काँग्रेस र एमालेबाट वडा अध्यक्षमा उठेका उम्मेदवार पनि शैक्षिक योग्यता कम भएका, परिपक्व, पाका नभएको र सामाजिक रुपमा ग्रहणयोग्य नभएकाले मत दिन मन नभएको सुनाए । उनीहरुले अहिले वडा नम्बर ४ मा कि कलम, कि हलो रोज्ने योजनामा आफूहरु रहेको सुनाएका न्यौपानेले मायादेवीसंग बताउनु भयो ।

अहिले काँग्रेस र एमालेलाई मत दिन मनै नभएको उनीहरुले सुनाए । अन्य पार्टीले निर्वाचन आचारसंहिता मिचेर चुनावी प्रचार गरिरहेका बेला न्यौपानेको टोलीले निकै सामान्य तवरले चुनावी प्रचार गरिरहेको छ । पाँच छ जनाको समुहमा गएर उनीहरुले मतदातासंगै मत माग्दै मतदाता शिक्षा पनि दिइरहेका छन् । यो मुलुककै लागि नमुना भएको भन्दै चर्चा हुन थालेको छ । माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा र जसपाले अहिले बाणगंगामा तालमेल गरेका छन् । नगरको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका देवराज अर्याल र उपमेयरमा कमल भट्टराई उठ्नु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  ३ : ०३ बजे