१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने बाणगंगाका रेग्मी पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी भएको उनकै भाषामा बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ म्यादी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ म्यादी ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।

रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ । रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ ।

र, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  २ : ४५ बजे