३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

खेलाडी चौधरीको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान



कोहलपुर ।

भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्। मन्त्री बुधबार बिहान बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेका थिए।

मंगलबार काठमाडौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके लगिएको छ। बाँकेको राप्तीसोनारी–३ बेलासपुरस्थित घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो। श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्रीले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। उनले भने, ‘खेलाडी चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको छ।’

तेह्रौं दक्षिण एशियाली खेलकुदमा भारोत्तोलनमा स्वर्ण पदक विजेता खेलाडी चौधरी एशियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन्। ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा बस्दै आएकी २३ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन्।

प्रकाशित मिति : २८ बैशाख २०७९ बुधबार ००:००  ५ : ४० बजे