१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आर्थिक अभावले टंकको जीवन खतरामा, सम्पत्ति सक्किएपछि परिवारको विचल्ली !



मायादेवी अनलाइन, चारनम्बर ।

ब्रेन ट्युमर भएपछि काठमाण्डौँमा उपचाररत टंक रेग्मीको जीवन आर्थिक अभावको कारण खतरामा रहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुर निवासी रेग्मीको उपचार गर्न थप रकम नभएपछि जीवन खतरामा परेको हो ।

ब्रेन ट्युमर भएपछि सुरुमा उनले उपचार गरे तर ७ बर्षपछि फेरी ट्युमर पलाएपछि अप्रेसन गर्नु पर्ने रेग्मीको अवस्था छ । पहिले नै उपचार गर्दा सम्पति सकेर टाँट पल्टेका टंकलाई यतिखेर भने त्यस्तै अप्रेसनको लागि मोटो रकमको आवश्यकता देखिएको पारिवारिक श्रोतले मायादेवी अनलाइनलाई बतायो ।

उपचार गर्दा सम्पति सकेर पनि थप क्रणको भार बोकिरहेका रेग्मी जीवन मरणको दोषाँधमा रहेपछि आर्थिक सहयोग गर्न भन्दै स्थानीयले टंक बचाऊँ अभियान सुरु गरेका छन् । सो अभियानबाट धेरथोर रकम संकलन भइरहेको अभियान्ता पदम रेग्मीले बताउनु भयो । उहाँका अनुसार अहिले देशविदेशमा भएका व्यक्तिसंग रकम जुटाउने कार्य भइरहे पनि आवश्यक रकम नजुटेको बताउनु भयो ।

अस्पतालको बेडमा जीवन मरणसंग लडिरहेका रेग्मीले आफू मरे परिवारको विचल्ली हुने भन्दै बचाइदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘अब मेरो केही उपाए छैन अप्रेसन गर्न । सम्पति पनि बेचिबेची सक्कियो । क्रणले चुर्लम्ब डुवेको छु । हुँदासम्म त सबैलाई सहयोग गरेकैँ हुँ । मनमा दया छ भने बचाइदिनु हुन्छ कि ?’

रेग्मीकी श्रीमती माया रेग्मीले जसरी पनि बचाइदिन विन्ति गर्नुभएको छ । उहाँले रुँदै सुनाउनु भयो ‘सक्ने जति प्रयास गरेका हौँ । अब हाम्रो सम्पत्ति पनि सक्कियो । उपचार नगरौँ उहाँको जीवन खतरामा छ, गरौँ यतिधेरै पैसा कसरी जुटाउने ? अन्तिम विकल्पको रुपमा मिडिया रहेको बताउँदै बुढालाई बचाइदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

मेघा बैंकको खाता नम्बर ०३९००५००४४०३५ खाता नम्बर वा ९८४७०१८३८८ मा सम्पर्क गरेर सहयोग गर्न पनि मायाले सबैमा आग्रह गर्नुभयो । टंक यस क्षेत्रका ब्यवसायी हुन् । उनले वैरियामा किराना चलाउँथे । निकै सहयोग भावनाका रेग्मी ब्रेन ट्युमर भएपछि भने ब्यवसाय छोड्न बाध्य भएका छन् । अहिले घरमा आय श्रोतको बाटो पनि छैन । अर्कोतर्फ उपचार गर्दा सम्पत्ति सक्किएपछि परिवारको विचल्ली नै भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९ मंगलबार ००:००  ७ : ३४ बजे