१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवाको उल्टो ‘वायु’ हुन्छ, त्यही वायु हुन् ‘बालेन र हर्कहरु’



चन्द्रकान्त न्यौपाने ।
गठबन्धन (काँग्रेस, माओवादी, नेकपा एस,राजमो, जसपा ) र नेकपा एमालेलाई चक्मा ख्वाउँदै मुलुककै केन्द्र काठमाण्डौँ महानगर पालिकाको नगर प्रमुख पदमा बालेन्द्र शाह (बालेन ) विजयी भएका छन् । तिन वडाको मत गणनाको नतिजा आउनै पूर्व बालेनले जित निश्चित गरिसकेका छन् । गन्न बाँकी मतभन्दा प्रतिस्पर्धी सिर्जना सिंह र केशव स्थापितविरुद्ध ग्रहण गरेको मतान्तर बढी भए पछि बालेनको जित पक्का भएको हो । मतगणना सकिएपछि बालेनको जितबारे निर्वाचन आयोेगले नै बालेन विजयी भएको घोषणा गर्ने छ ।

स्थानीय तहको निर्वाचन २०७९ मा मुलुकभर ३८५ स्वतन्त्र बालेनहरुको उदय भए पश्चात् यतिबेला राजनीति नै तरङ्गित बनेको छ भने अन्र्तराष्ट्रिय मिडियाको हेडलाइनमासमेत बालेन र हर्कहरुको चर्चा भएको छ ।
काठमाण्डौँ, धरान, धनगढी, जनकपुरजस्ता केन्द्रमा यसपटक आफूहरुको नेतृत्व हुन नपाउँदा नेपाली राजनैतिक दलका नेतामा पनि खिन्नता र आरोप प्रत्यारोप एकातिर सुरु भएको छ भने जनइतरमा अब बालेनहरु नै देशब्यापी रुपमा नउदाएसम्म मुलुकले सन्तोषको श्वास फेर्न नसकिनेतर्फ छलफल केन्द्रित भएको गाईगुई सुनिन्छ ।

बालेनहरुले काम कति गर्न सक्लान् त्यसको हिसाबकिताब पछि नै गरौँला तर अहिले भन्न सकिन्छ कि बालेनहरु युवा मात्र होइनन् वायु नै हुन् । किनभने युवाको उल्टो अर्थ वायु हुन्छ । त्यही परिवर्तनका वायु बालेन र हर्क बहादुर राई सम्पाङ हुन् । यहाा केही सुधार भएन र केही पात्र सुध्रिएनन् भने यो वायुले उडाएर उनीहरु हराउने छन् ।

राजनैतिक दलका नेताले गणतन्त्रपछिका करिब १६ बर्षसम्म जनताको हितमा काम नगरी आरोप–प्रत्यारोप, गाली–गलौजमा विताएपछि शिक्षित समाजका मानिसले विकल्पस्वरुप बालेन र हर्कलाई खोजेका हुन् ।

२०७४ सालको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले स्थानीय तहलाई भ्रष्टाचारको अखडा बनाए । महालेखा परिक्षकको कार्यालयमा स्थानीय तहको बेरुजु रकमको चाङ हेर्दा आम जनतालाई खिन्नता हुने गराउँछ । यसअघिका जनप्रतिनिधहरुलाई आलिसान महल चाहियो, सेवा सुविधा चाहियो, गाडी घोडा चाहियो तर जनताका दैनिन्दिनीको कुनै मतलव भएन । दुख, पिर समस्याको वास्तै भएन । एउटा सानो उपचार गर्न पनि ग्रामिण भेगका मानिस सहज धाउनु पर्यो भने आफ्नै पालिकामा जनताले गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने अवस्था भएन ।

भोक र प्यासले जनता दारा किटून्, रोउन्, कराउन् तर यस संवेदनाको कुनै सुनुवाईसम्म गर्न सकेनन् यसअघिका जनप्रतिनिधिले । विकासका नाममा बाटा त बनाए तर बाटाहरु चार, पाँच महिनामा भत्किए । कृषिमा अनुदान त दिए तर आफ्ना र काम नगरेका किसानलाई । लक्षित वर्गका कार्यक्रममा करोडौँ छरे तर त्यसमा आम नागरिकको पहुँच भएन, आफ्ना आसेपासेलाई सहभागी गराई हाजिर गराएर र भत्ता बाँढे ।

अनावश्यक करको भारी बोकाएर सुख सुविधाबाट जनतालाई चुसेका पालिकाका जनप्रतिनिधिहरु प्राकृतिक श्रोत साधनको दोहन र कमिसनमा लिप्त भए । त्यसैले शिक्षित समाजमा यसपटक यति धेरैका संख्यामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यी मध्ये काठमाण्डौँ, धरान, धनगढीमा त प्रमुख पद नै स्वतन्त्रले ओगट्न सफल भएका छन् ।

यस अनपेक्षित नतजिालाई राजनैतिक दलका भनाउँदा नेताले जतिखेरबाट सुक्ष्म ढंगबाट ग्रहण नगरी स्वतन्त्रले केही गर्न सक्दैनन् भन्ने मनोविज्ञान पाल्नेछन् त्यही दिनबाट यिनको अधोगति सुरु हुने छ । स्वतन्त्रले केही गर्न सक्दैनन् भन्नेलाई धरानका मेयर हर्क बहादुरले दरिलो झापड दिइसकेका छन् । पदभार ग्रहण गरेसंगै उनी जनताका खानेपानी लगायतका समस्या समाधानमा एक्सनमा लागि सकेका छन् ।

काठमाण्डौँका मेयर बालेनले विजय उत्सव काम गरिसके पछाडी गर्ने उद्घोष गर्नु लगायतबाट अब दलका प्रतिनिधिलाई काम नगरी सुखै छैन । बालेनहरुको यो सुरुवातले विहानीले दिउसोको संकेत गर्दछ भनेझैँ सकारात्मकताको आशा गर्न सकिन्छ । उनको मिसन र भिजनले काठमाण्डौँ हाँकियो भने साँच्चै चमत्कार नै हुने देखिन्छ । अर्को कुरा कुरा धेरै गरेर होइन काम गरेर जनताको मन मुटुमा बस्न सकिन्छ भन्ने उदाहरण पनि हर्क र बालेनहरु बनेका छन् । अरुको घोचपेच गर्दा आफै घोचिएको रुपमा नेताले आफूलाई बुझेर बालेन शैलीमा अब अगाडी बढ्नु पर्दछ । उनीहरु युवा मात्र होइनन् विचारसहितका पाका प्रतिनिधि हुन् ।

ठुला र गर्व गर्ने कुरा त यिनीहरुले केही गर्न सकेनन् शिक्षा, स्वास्थ्य विद्यूत, खानेपानी जस्ता जनताका आधारभूत समस्यामा समेत रमिते बनेर पाँच बर्ष खेर फालेका जनप्रतिनिधिविरुद्ध जनताहरु बालेन र हर्कहरु खोज्न बाध्य भएका हुन् । हुन त दलविना मुलकमा शाषन चलाउँछु भन्नु असम्भव प्राय हो तर यस्तो स्थिति किन आयो भनेर नेताहरुले राम्ररी समिक्षा गर्ने बेला भने पक्कै आएको छ । अब पनि हिजोको राज शैलीमा दलबाट चुनिएका जनप्रतिनिधि अगाडी बढ्ने छन् भने अबको ५ बर्षपछि यिनको अस्तित्व सकिने छ र देशभर बालेन र हर्कहरुको किल्ला हुनमा दुई मत छैन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  १० : ३३ बजे