१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

हवाई दुर्घटना : कति पाउँछन् मृतकका परिवारले बीमावापतको रकम ?



काठमाडौं ।

आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ । दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।

तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले वरिष्ठ एरोनोटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका वुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी समिति बनाएको छ । छानबिन समितिका सदस्यसचिव वुद्धिसागर लामिछानेका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको छ । समितिले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानी आदि सबै कुरा समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने छ ।

सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटोभन्दा छिटो काम गर्नेछ र करिब ३ महिनामाभित्रै प्रतिवेदन दिने छ । उनले भने, ‘यस्ता साना आन्तरिक हवाई दुर्घटनामा करिब ३ महिना समय लाग्ने गरेको छ । हामी पनि तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ । तर विदेशबाट समेत विशेषज्ञ झिकाएर अनुसन्धान गर्नु परेमा थप समय लाग्न सक्छ । नत्र हामी तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ ।’

प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२४ रुपैया रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछन् ।

यद्यपि यो रकम ज्यादै कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्टै कानुन बनाउन लागिरहेको मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले बताए । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको सहसचिव लामिछानेले बताए । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ९मोन्ट्रियल महासन्धि०को आधारमा बीमा रकम १ लाख डलरभन्दा बढी रहेको लामिछानेले बताए ।

सन् २०१८ सम्म नेपालका वायुसेवामा यात्रारत यात्रुको दुर्घटनाका कारण मृत्यु भएमा वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार २० हजार अमेरिकी डलर मात्रै दिने गरिएको थियो । नेपालले मोन्ट्रियल महासन्धिमा हस्ताक्षर गरेसँगै हाल अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका लागि करिब १ करोड ३० लाख बराबरको बीमा हुने गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  २ : ४२ बजे