५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रूपन्देहीमा घाइते फेला परेको चितुवाको मृत्यु



बुटवल ।

रूपन्देहीको सैनामैना झिमझिमियामा घाइते अवस्थामा फेला परेको चितुवाको बिहीबार मृत्यु भएको छ।
केही दिनयता सैनामैनाको सालझण्डी, रामापुर लगायतका क्षेत्रमा डुलिरहेको चितुवा बिहीबार सख्त घाइते अवस्थामा फेला परेको थियो।
इलाका प्रहरी कार्यालय सैनामैनाका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार उक्त चितुवा बिहीबार बिहान सैनामैना १० झिमझिमियामा फेला परेको थियो।

मौवाको रूखमुनि पल्टिएको अवस्थामा चितुवा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा चितुवाको घाँटीमा फलामको तार बेरिएको र तारले काटिएर घाँटीमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो।

प्रहरी टोली पुगेपछि उक्त चितुवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवामा पठाइएको कञ्चन सव डिभिजन वन कार्यालयका प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए। यसअघि बिहान घाइते अवस्थामा फेला परेको चितुवालाई नजिकै गएर हेर्न खोज्दा स्थानीय सैनामैना १० बेतहनीका ५५ वर्षीय रामकृष्ण थारूलाई आक्रमण गरी घाइते बनाएको थियो।

गाउँमै आएर पल्टिएको चितुवालाई नजिकै गएर हेर्न खोज्दा चिथोरेर थारूलाई सामान्य घाइते बनाएको प्रहरी निरीक्षक मरासिनीले बताए। पछिल्लो केही दिनयता सैनामैना र कञ्चन सामुदायिक तथा राष्ट्रिय वन आसपासको क्षेत्रमा चितुवा डुलिरहेको भेटिएपछि प्रहरीले बालबालिकाहरूलाई एक्लै हिँड्डुल नगर्न र अन्य व्यक्तिहरू समेत साँझ बिहानको समयमा हिँड्डुल गर्दा सतर्क रहन सूचना जारी गर्दै आएको थियो।

सव डिभिजन वन कार्यलय कञ्चनका प्रमुख न्यौपानेका अनुसार उक्त चितुवा अन्दाजी १० देखि १२ वर्ष उमेरको हो। चितुवाको शरीरमा लागेको चोट र उसको अवस्थालाई हेर्दा जंगलमा कसैले राखेको पासोमा परी घाइते भएको हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ४ : ०८ बजे