१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

को हुन शहरी विकास मन्त्री मेटमणी ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
२०२९ साल चैत १० गतेका दिन दाङको गढवा गाउँमा मेटमणि चौधरीको जन्म भएको हो । पिता भगवती प्रसाद चौधरी र माता शिव रात्रीदेवी चौधरीका कोखवाट उहाँको जन्म भएको थियो ।

उहाँको दुई वर्षको प्रेमपछि २०५८ सालमा खुमा कुमारी चौधरीसंग प्रेम विवाह भएको हो । खुमा कुमारी पनि राजनीतिमा सक्रिय नै हुनुहुन्छ । राजनीतिक परिवारमा जन्मनु भएकाले उहाँको सानै उमेरदेखि राजनीति प्रति चासो रहेको थियो । बुबा पनि राजनीति लागेकोले सानैदेखि राजनीतिमा रुचि भएको उहाँ बताउनुहुन्छ ।

मेटमणिको वुवा २०५१ साल मध्यवर्ती चुनावमा पनि उठ्नुभएको थियो । उहाँको ठुलो दिदी दाङ जिल्लाको गढवा गाउँपालिका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । अर्की दिदी पार्टीको शिक्षक सङ्गठनमा हुनुहुन्छ । राजनीतिक र सामान्य परिवारमा हुर्केको उहाँको राजनीति यात्रा भने विद्यार्थी राजनीतिवाट २०४६ सालपछि मात्रै शुरु भएको हो ।

नम्र बोली, मिलनसार व्यवहारका धनी मेटमणि दाङ देउखुरीका स्थायी बासिन्दा उहाँले अनेरास्ववियु छौटौँबाट राजनीति सुरु गर्नुभएको हो । अनेरास्ववियुको विभिन्न सङ्गठन हुँदै सांसदसम्म बन्न पुग्नुभएका मेटमणी चौधरी नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गो विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने बनाउने लक्ष्य रहेको छ ।

अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष, राप्ती अञ्चल कमिटीको सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्यसम्मको उहाँले विद्यार्थी राजनीतिमा काम गर्नुभएको छ ।

पार्टी राजनीतिमा नेकपा (एमाले) दाङ क्षेत्रीय कमिटी १ को सचिवको जिम्मेवारीवाट शुरु गर्नुभएको हो । क्षत्रीय कमिटी सचिव, अध्यक्ष हुँदै उहाँ २०५५ सालमा दाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पार्टीको नवौ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्लाको इन्चार्ज बन्नुभयो ।

नेपालमा रहेका तत्कालीन दुई ठुला कम्युनिस्ट पाटीको एकता भएर वनेको नेकपाको केन्द्रीय सदस्यमा समेत उहाँले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभयो । सानै देखि खरो स्वभावका धनी मेटमणी चौधरी नेकपा विभाजन भएर नेकपा एमालेमै रहनुभएको थियो । तर, केपी वलीले संविधानविपरीत ससंदको दुई दुईपटक हत्या गरेपछि केपी वली प्रवृत्तिको खुलेर कडा रुपमा आलोचना गर्दै विरोधमा लाग्नुभयो ।

सविधानविपरीत ससंद विघटन संगै केपी वलीले पाटीलाई समेत आफ्नो शर्मा कम्पनी बनाउन थालेपछि त्यहाँवाट विद्रोह गरेर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पाटी गठन गरि एकीकृत समाजवादी पार्टीमा उहाँ लाग्नुभएको हो ।

२०७४ सालमा दाङ जिल्लाको क्षेत्र नम्बर १ वाट करिव १४ हजार मतान्तरले प्रतिनिधि सभामा निर्वाचित चौधरी हाल एकीकृत समाजवादी पाटीका तर्फबाट प्रतिनिधि सभा सदस्यका रुपमा रहनुभएको छ । निष्ठाको राजनितीमा सक्रिय उहाँ एकीकृत समाजवादी पाटीको पोलिटब्यूरो सदस्यसंगै लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष रहनुभएको छ । राजनीति यात्राकै क्रममा उहाँले २०५९ सालमा जेल जीवन समेत बिताउनुभएको थियो ।

मानव अधिकार जागरण मञ्च दाङको संयोजक, कमैया मुक्ति समाजको केन्द्रीय सदस्य, थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी संघको केन्द्रीय सदस्य लगायत जिल्लामा रहेका विभिन्न समाजिक संघ संस्थाहरूमा समेत सलग्न रहेर काम गरेको उहाँमा अनुभव रहेको छ ।

अध्ययनमा अत्यन्तै रुचि राख्ने चौधरीले अर्थशास्त्र र राजनीति शास्त्रमा एमए गर्नुभएको छ । अहिले उहाँले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दै हुनुहुन्छ । उहाँको १ श्रीमती १ छोरी र १ छोरा रहेका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  ९ : ३६ बजे