१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राडुकानुले विम्बल्डन खेल्नेमा शंका



काठमाडौं ।
यूएस ओपन च्याम्पियन इमा राडुकानुले विम्बल्डन टेनिस खेल्नेमा शंका व्यक्त गरेकी छन् । मंगलबार विम्बल्डनका लागि ‘वार्मअप’ प्रतियोगिता मानिएको नटिङघम ओपनमा राडुकानु घाइते भएकी हुन् ।

नटिङ्घम ओपनको पहिलो खेलमा बेलायतकी राडुकानुले स्वीट्जरल्यान्डकी भिक्टोरिजा गोलुबिकविरुद्ध प्रतिस्पर्धा गर्दै थिइन् । पहिलो सेट ४–३ ले पछि परेको स्थितमा राडुकानुले चोटका कारण खेल छाड्नुपरेको हो । राडुकानुको ‘साइड स्ट्रेन’मा समस्या देखिएको हो ।

“ठ्याक्कै के भएको हो भनेर भन्न सक्ने अवस्था छैन,” ११ वरीयताप्राप्त राडुकानुले भनिन्, “अचानक पीडा महसुस भयो । जाँच नगरी आफैँले केही भन्न सक्दिनँ ।”

‘ग्रास कोर्ट’मा हुने विम्बल्डन यही जुन २७ बाट सुरु हुँदै छ । १९ वर्षीया राडुकानु गएको वर्ष विम्बल्डनको अन्तिम–१६ मा स्थान बनाउन सफल भएकी थिइन् । गएको वर्ष यूएस ओपनको उपाधि जितेपछि राडुकानुले राम्रो नतिजा निकाल्न सकेकी छैनन् । २०२२ को अष्ट्रेलियन र फ्रेन्च ओपनमा राडुकानु दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  ७ : ४० बजे