७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या



दाङ ।

दाङको घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ।

नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो । उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ ।

आँखासम्बन्धी समस्या भएका ५ हजार ८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दुसम्बन्धी समस्याका बिरामी रहेका राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

१९ वटा वडा रहेकोे घोराही उपमहानगरपालिकामा घोराहीमा आँखा सम्बन्धी समस्याका बिरामी सबैभन्दा धेरै वडा नम्बर १५ मा ३ सय २३ जना र कम वडा नम्बर १ मा १ सय २ जना रहेका छन्। आँखा अस्पतालले मोतियाबिन्दुलाई न्यूनीकरणसँगै जिल्लामा आँखा स्वास्थ्यको पठनपाठनको लागि व्यवस्था गर्न स्थानीय सरकारसँग माग पनि गरेको छ ।

यसैबीच राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । तुलसीपुरको रक्षाचौरमा रहेको अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानीसम्बन्धी समस्याको शल्यक्रिया सेवा सुरु भएपछि उपचार गर्न आउने बिरामीको सङ्ख्या पनि बढ्न थालेको हो ।

गर्मी मौसममा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामी धेरै आउन थालेका विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले बताउनुभयो । अस्पतालले ६ महिनाको अवधिमा आँखाको नानी सम्बन्धी दुई हजार, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका एक हजारभन्दा धेरै बिरामीको उपचार गरेको पनि डा। सुवेदीले जानकारी दिनुभयो । अस्पतालले आर्थिक वर्ष २०७८र७९ देखि विशेषज्ञ सेवा थप गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  ११ : ४३ बजे